‘सिसैया र स्टेशनपुर जोड्ने पक्की पुल निर्माण हुन्छ, डडेल्धुराबाट सिधै झलारी उत्रिन सकिन्छ’

  शनिबार २६, कार्तिक २०७९ ०१:२९

महेन्द्रनगर। कञ्चनपुर क्षेत्र नं. २ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एनपी साउदले शुक्लाफाँटा नगरपालिका वडा नं. ९ र ११ जोड्ने पक्की पुल निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्।

शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साउदले सिसैया र स्टेशनपुर जोड्ने पुल निर्माण गर्ने आफ्नो पुरानो सपना रहेकोले यसपटक विजयी भएमा निर्माण गर्ने प्रतिवद्धता जनाए।

पूर्वमन्त्री समेत रहेका नेता साउदले भने, ‘वडा नं. ९ र ११ जोड्ने पक्की पुलको मेरो पुरानो सपना छ, यसपटक यदी तपाईहरुले निर्वाचन गर्नु भएमा पहिलो पल्टमै बजेट राखेर ढाइ/तीन वर्षभित्र मोटरमै झलारीको सिसैया र स्टेशनपुर आउने पुल बनाउने प्रतिवद्धता जनाउँछु।’

चुरेमा ट्रयाक खोलेर बुडर–नायल हुँदै बाटो कलुवापुर पुगेको बताउँदै उनले सो बाटोमा जोड्न सकेमा डडेल्धुराबाट सिधै झलारी पुग्न सकिने उल्लेख गरे। 

‘ट्रयाक खालेर नायलको बाटोमा पु-याउन सकेमा झलारी बजारमा डडेल्धुराबाट आउने यातायातका साधनहरु अन्त नघुमेर सिधा उत्रिन सक्छन्,’ उनले भने।

पर्यटकीय सम्भावना बोकेका झरना खोला, धारापानी, मणिकाधाम लगायत क्षेत्रमा आवातजावत बढ्ने उनको विश्वास छ। 

‘मणिकाधाममा पुजा र आरधानाका लागि जिल्ला भरीका मानिसहरु आउने छन्,’ उनले भने, ‘मनोरञ्जका दृष्टिकोणले यो पर्यटकीय स्थल बन्ने छ र यहाँको उद्योग, वाणिज्य, र व्यापारका भविष्यमा अभिवृद्धि हुने छ।’
 

सम्बन्धित शीर्षकहरु