एनपी साउदः जसले विकट बस्तीलाई सडक सञ्जालसंग जोडे

  बुधबार ३०, कार्तिक २०७९ ०६:५६

महेन्द्रनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंवम् पूर्वमन्त्री एनपी साउद कञ्चनपुर क्षेत्र नं. २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार बनेर चुनावी दौडमा छन्।

उनले यसअघि कञ्चनपुरमा ५ वटा निर्वाचन लडिसकेका छन्। नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका साउद कांग्रेसको मूल राजनीतिमा अहिले सभापति शेरबहादुर देउवानिकट छन्।

प्रधानमन्त्री देउवाका विश्वासपात्रका रुपमा चिनिन्छन्, उनी। कांग्रेसको केन्द्रीय राजनीतिमा उनले बलियो पकड राखेका छन्।

छैटौँ पटक संसदीय चुनावमा उठेका साउद ०७४ को हारको बदला लिँदै तेस्रो पटक जितेर संसद पस्ने प्रयासमा छन्।

उनी पहिलो पटक ०५१ को चुनावमा साविक क्षेत्र नम्बर ३ मा एमालेका उर्वादत्त पन्तसँग पराजित भएका थिए।

०५६ मा साविक क्षेत्र नम्बर १ मा उठेका साउदले एमालेका रामकुमार ज्ञवालीलाई पराजित गर्दै संसद पुगेका थिए।

०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीका देवीलाल चौधरीसँग साउद साविक क्षेत्र नम्बर २ मा पराजित भए।

त्यसपछि ०७० को दोस्रो संविधानसभा चुनावमा साउदले एमालेका तारालामा तामाङलाई हराए।

०७४ मा साउद वाम गठबन्धनका साझा उम्मेदवार एमालेका नरबहादुर धामीसँग पराजित भए। अहिलेसम्मका ५ निर्वाचनमध्ये साउदले ३ मा हार र २ मा जित निकालेका छन्।

‘क्षेत्र नम्बर २ मा एमालेले जनताको पक्षमा काम गर्न सकेको छैन, त्यसैले विकास र समृद्धिका लागि यसपटक जनताले गठबन्धनलाई जिताउँछन्,’ कांग्रेस क्षेत्र नं. २ सभापति लालबहादुर सिंहले भने, ‘यहाँ हामी त्यसै पनि बलियो छौँ, त्यसमाथि माओवादी पनि हामीसँग छ, हामी भारी मतान्तरले जित्छौँ।’

गठबन्धन अनुकुल परिणाम
क्षेत्र नम्बर २ मा स्थानीय तहको परिणामअनुसार सत्तागठबन्धन बलियो छ।

यो क्षेत्रमा बेदकोट नगरपालिका ९८ नम्बरबाहेक०, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकासहित ३० वडा छन्।

स्थानीय तहमध्ये बेदकोट र कृष्णपुर नगरपालिकामा कांग्रेसले मेयर–उपमेयर दुवै जितेको छ। शुक्लाफाँटा नगरपालिकामा उपमेयर मात्रै कांग्रेसले जितेको छ भने मेयर एमालेले जितेको छ।

यहाँ स्थानीय चुनावमा एमाले, कांग्रेस एक्लाएक्लै तथा माओवादी केन्द्र र एकीकृत समाजवादी तालमेल गरेर लडेका थिए।

यहाँ कांग्रेस र माओवादीसहितको वाम–लोकतान्त्रिक गठबन्धनसँग करिब ३० हजार मत छ।

क्षेत्र नम्बर २ अन्तर्गत पर्ने तीन स्थानीय तहमा कांग्रेसका प्रमुखका उम्मेदवार एक्लैले कूल २४ हजार ६७६ मत बटुलेका छन्।

एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादीसँग पनि १० हजार हाराहारी मत छ।

माओवादीको समर्थनमा बेदकोट नगरपालिकामा मेयरका उम्मेदवार एकीकृत समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र शुक्लाफाँटामा एकीकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका माओवादीका नवराज ऐरले ५ हजार २२५ मत ल्याएका थिए।

यस्तै, एक्लै लडेको कृष्णपुर नगरपालिकामा माओवादीका उम्मेदवार जोगराज चौधरीले ८ हजार २०० र एकीकृत समाजवादीका सुरेन्द्र बहादुर बलले ६७५ मत ल्याएका थिए।

समाजवादीका रेग्मी र बम अहिले एमालेमै फर्किएका छन्।

एमालेसँग क्षेत्र नम्बर २ मा १७ हजार बढी मत छ। एमालेका प्रमुखका उम्मेदवारले तीनै स्थानीय तहमा १७ हजार ९८७ मत बटुलेका छन्।

३० वडामध्ये कांग्रेसले १५ वडा, माओवादीले ८, एमाले ६ र एकीकृत समाजवादीले १ वडामा अध्यक्ष जितेको छ।

कांग्रेसले २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेदकोटका १, ३, ४, ५ र ७, शुक्लाफाँटाका ४, ५, ६, ९, १० र ११ तथा कृष्णपुर नगरपालिकाका १, ५, ८ र ९ वडा जितेको छ।

माओवादीले बेदकोटको वडा नम्बर ६, १०, शुक्लाफाँटाको ३, ८ र कृष्णपुरको २, ३, ४, ६ जितेको छ।

एमालेले बेदकोटको वडा नम्बर २, ९, शुक्लाफाँटाको १, २, ७ र कृष्णपुरको ७ जितेको छ। एकीकृत समाजवादीले शुक्लाफाँटा–१२ मा जितेको छ।

१५ पक्की, ११ झोलुङ्गे पुल
कञ्चनपुरबाट २ पटक सांसद चुनिएका साउदले यस क्रममा मन्त्रीको जिम्मेवारी समेत सम्हाल्ने मौका पाए।

आफ्नो कार्यकालमा उनले क्षेत्र नं. २ मा विकास निर्माणका थुप्रै काम थालेका छन्।

कञ्चनपुरका दुर्गमबस्तीका नदीहरुमा पक्की र झोलुङ्गे पुल निर्माण गरेर ती बस्तीलाई सडक सञ्जालमा जोड्ने काम उनले गरेका छन्।

बेदकोट नगरपालिकामा ५, शुक्लाफाँटामा ४ र कृष्णपुरमा ६ गरेर १५ वटा पक्की पुल उनको कार्यकालमा निर्माण भएका छन्।

यस्तै, क्षेत्र नं. २ का विभिन्न क्षेत्रका दुर्गमबस्तीमा ११ वटा झोलुङे पुल निर्माण गरेर बस्तीहरु सडक सञ्जालसंग जोडिएका छन्।

कृष्णपुर नगरपालिका–७ शान्तिनगर–गेटा, कृष्णपुर नगरपालिका–८ मजगई–श्रीलंका, कृष्णपुर नगरपालिका–७ शान्तिपुर–अत्तरिया, कृष्णपुर नगरपालिका–७ कार्कीकटानदेखि मालाखेती र कृष्णपुर नगरपालिका–३ चित्रपुरदेखि देखतभुली जोड्ने पुल निर्माणले साउदले भूमिका खेलेका छन्।

यस्तै, शुक्लाफाँटा नगरपालिका–११ अम्मरपुर–बेलडाँडी, अम्मरपुर–मुक्तशिविर, शुक्लाफाँटा–१० कसरौलदेखि टोटी, बेदकोट–२ जडेपानी–हात्तिथला, बेदकोट–४ समादैजी–घटाल र बेदकोट नगरपालिका हुँदै पोल्खरी जोड्ने झोलुङ्गे पुल पनि निर्माण भएका छन्।

सम्बन्धित शीर्षकहरु