जनता गठबन्धनको पक्षमा छन्, सजिलै जित्छौंः एनपी साउद [अन्तर्वार्ता]

  आइतबार २७, कार्तिक २०७९ ०१:३२

कञ्चनपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउद कञ्चनपुर क्षेत्र नं. मा २ प्रतिनिसिभाका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका साउद कांग्रेसको मूल राजनीतिमा अहिले सभापति शेरबहादुर देउवानिकट छन्।

प्रधानमन्त्री देउवाका विश्वासपात्रका रुपमा चिनिन्छन्, उनी। कांग्रेसको केन्द्रीय राजनीतिमा उनको बलियो पकड छ। कांग्रेसको भ्रातृ संगठन नेविसंघको अध्यक्ष बन्ने सुदूरपश्चिमका थोरै नेताहरुमा साउद पनि हुन्। 


छैटौँ पटक संसदीय चुनावमा उठेका साउद ०७४ को हारको बदला लिँदै तेस्रो पटक संसद पस्ने प्रयासमा छन्। उनी पहिलो पटक ०५१ को चुनावमा साविक क्षेत्र नम्बर ३ मा एमालेका उर्वादत्त पन्तसँग पराजित भएका थिए।

०५६ मा साविक क्षेत्र नम्बर १ मा उठेका साउदले एमालेका रामकुमार ज्ञवालीलाई पराजित गर्दै संसद पुगेका थिए। यसपटकको चुनावमा उनै साउद वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेर चुनावी मैदानमा छन्।

नेकपा एमालेबाट ०७४ मा जितेका नरबहादुर धामी चुनावी दौडमा छन्। प्रचारप्रसारको धपेडीबीच कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्यका उम्मेदवार साउदसँग चुनावमा केन्द्रि रहेर गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंशः

मत माग्न घरदैलोमा गइरहनु भएको छ, जनताको प्रतिक्रिया कस्तो छ?
जनता गठबन्धनको पक्षमा सकारात्मक छन्। जनता उनीहरु लोकतन्त्रको स्थायित्व, शान्तिको स्थापना र विकासको प्रकृया सुरु भएको हेर्न चाहन्छन्। 

यसकारण यसले सत्तारुढ गठबन्धनको पक्षमा चुनावी माहोल बढ्दै गएको छ। हामीले ३० वटै वडाका मतदातासँग भेट गर्दा सबै ठाउँमा सकारात्मक माहोल पाएका छौँ। वाम लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित छ।

तपाईंका मुख्य एजेण्डा के के हुन?

विकासको एजेण्डा लिएर अगाडि बढेको छु। क्षेत्र नंं. २ मा विकासका ४र५ वटा चुनौती छन्। पूर्वाधार विकासमा यो क्षेत्र पछाडि परेको छ।नगरपालिका भए पनि बिजुली, सडक जस्ता कुराहरु वडास्तरमा पुग्न सकेका छैनन्।

बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकालाई ‘इन्टर लिंक’ गरेर पूर्वाधार विकास प्रक्रियालाई अगाडि बढाउँछु।
चुरेबाट बग्ने नदीहरुले जनताका घरखेत तहसनहस गरेका छन्।

बाढी र डुबानको समस्या छ, त्यसलाई निराकरण गर्ने योजना छ। यहाँ २४ वटाजति आरक्ष, कमैया, हलिया र बाढीपिडित शिविर छन्। 

सीमान्तकृत समुदाय बस्ने ती शिविरहरुको एकीकृत बस्ती राखेर विकास योजना व्यवस्थित रुपमा चलाउन सकिन्छ। सरकारसँगै गैरसरकारी संस्थालाई पनि संलग्न गराएर विकास अगाडि बढाउँछु। 

करिब ४०र५० वर्षदेखि बसोबास गरेर लालपुर्जा नभएका भूमिहीन बसोबासीलाई लालपुर्जा दिन्छौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा तोकेको राजश्वको ५० प्रतिशत घटाएर लालपूर्जा दिने भूमि आयोगले भनिसकेको छ। 

यसले जनतालाई ठूलो राहत हुने छ। आफ्नो जग्गा आफैँले किनेर लालपुर्जा लिनुपर्ने अवस्था थियो। अब सस्तो शुलभ मूल्यमा जनताले जमीनको स्वामित्व पाउन सक्नेछन्। स्वास्थ्य, शिक्षा, खानेपानीलाई पनि मुख्य एजेण्डा बनाएका छौँ।

लामो समय यी समस्या समाधान हुन सकेका छैनन्, अब फेरि पुरानै एजेण्डा लिएर जाँदा जनताले पत्याउलान्रु 
जनताले पत्याउँछन र पत्याउनुपर्छ। आजभन्दा १०/२० वर्ष अगाडि मुलुकको परिस्थिति एउटा थियो, अहिले हामी अगाडि बढिरहेका छौँ, फेरी अगाडि बढ्ने हो।  

जनताले विश्वास नगर्नु भनेको आफैँमाथि विश्वास नगर्नु हो, जनताले सकारात्मक कुरालाई प्रोत्साहित गर्नु पर्छ। निर्वाचनमा सकारात्मक मत अभिव्यक्त गर्नुपर्छ। मलाई पूर्ण विश्वास छ, जनताका आशा, अपेक्षा पूरा गर्न सक्छौँ।

०७४ मा हार्नुभयो, त्यो हारलाई जितमा बदल्ने आधार के हो? 
यो क्षेत्र कांग्रेसको गढ क्षेत्र हो। कांग्रेस अहिले पनि बलियो छ, यो ठाउँमा। गत निर्वाचनमा दुई ठूला पार्टी एक भएर जाँदा पनि एक्लै कांग्रेसले २५ हजार मत ल्याएको थियो। 

अहिलेको स्थानीय निर्वाचनमा पनि कांग्रेस यस क्षेत्रमा पहिलो पार्टी छ। एमाले र माओवादी केन्द्र उस्ताउस्तै अवस्थामा छन्, मतान्तर धेरै कम छ। 

माओवादी केन्द्र र नेपाली कांग्रेस मिल्नेबित्तिकै हाम्रो दुवै संगठन बलियो छ, जनता हाम्रो पक्षमा छन्। निर्वाचनमा जित्न गठबन्धनलाई बलियो आधार हाम्रो संगठन पनि हो।

गठबन्धन दलबीच मत ट्रान्सफरको चुनौती छ, भनिन्छ, यसलाई कसरी चिर्नुहुन्छ?

मत ट्रान्सफरको जोखिम न्यून छ। केपी शर्मा ओलीजीको तानाशाहविरुद्ध केन्द्रमा सरकार बनेको हो। अहिले हामी सरकार चलाइरहेका छौँ।

गठबन्धनका दलहरु समन्वयमा सँगसँगै काम गरिरहेका छौँ, मतदातामाझ पनि समन्वय भइरहेको छ। त्यसकारण भोट ट्रान्सफरको चुनौती छैन। 

जित्नेमा विश्वस्त हुनुहुन्छ? 
क्षेत्र नं.२ का जनताको लगातार सेवा गरिरहेको छु। यहाँका जनताको सेवक हुँ। अघिल्लो पटक हारेको थिएँ, त्यसकारण यहाँका जनताले फेरि सेवा गर्ने पालो दिनेमा विश्वास छ।

सम्बन्धित शीर्षकहरु