पुनर्वास नगरपालिकामा तालाबन्दी

  आइतबार २६, पुष २०७७ ०४:०१

-किशोर तामाङ 
पुनर्वास । पुनर्वास नगरपालिकाका स्थानीय सुकुम्बासीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । नगरपालिकाभित्रका सुकुम्बासीको व्यवस्थापनका लागि नगरपालिकाका पदाधिकारीले पहल नगरेको भन्दै स्थानीयले तालबन्दी गरेका हुन् ।

देशैभर सुकुम्बासीलाई लाजपुर्जा बितरण लागि पहल भइरहेको भएपनि पुनर्वास नगरपालिकाले कुनै पहल नगरेकाले तालाबन्दी गरिएको सुकुम्बासी नगर संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले नगरपालिकाभित्र ऐलानि जमिनमा बसोबास गर्ने सम्पूर्ण सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा दिनुपर्ने माग गरेको छ ।

गत सोमवार सुकुम्बासी संघर्ष समिति पुनर्वासले सुकुम्बासी समस्या समाधानको माग राख्दै नगरलाई ज्ञापनपत्र बुझाएको थियो । तर, नगरपालिकाको तर्फबाट कुनै पहल नभएपछि आइतबार सुकुम्बासी परिवारले मौन जुलुस तथा धर्ना कार्यक्रम समेत गरेको थिए ।

पुनर्वास नगरपालिकाका ४ हजार २ सय परिवारसँग जग्गाधनी लालपुर्जा छैन् ।  पुनर्वास नगरपालिकामा  स्थानीय सरकार गठन भएको ३ वर्ष बित्दा समेत सुकुम्बासीका लागि कुनै पहल नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको सुकुम्बासी सँघर्ष समितिका संयोजक जगत सायर बताउँछन् ।

‘स्थानीय निकायलाई सुकुम्बासीको व्यवस्थापनको माग गर्दै ज्ञापन पत्र समेत बुझायौं ,’ उनले भने, ‘तर, नगरपालिकाले कुनै पहल गरेन, त्यसैले तालाबन्दी गरेका हौं ।’  नगरपालिकाका जनप्रतिनिधिले चुनावमा भोट माग्न सुकुम्बासीको व्यवस्थापन गर्ने बताएपनि व्यवस्थापनका लागि पहल नगरेको उनी बताउँछन् ।

सम्बन्धित शीर्षकहरु