सुदूरपश्चिमका पहाडी जिल्लामा सीता एयरको परीक्षण उडान

  मङ्गलबार २७, माघ २०७७ ०९:०२

बैतडी : सीता एयरलाइन्सले बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा परीक्षण उडान गरेको छ । बैतडीको पाटन, बझाङको देवल, डोटीको दीपायल र अछामको साँझेबगर विमानस्थलमा परीक्षण उडान गरेको हो ।

परीक्षण उडान नेपालगञ्जबाट गरिएको भए पनि धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालनको तयारी गरिएको सीता एयर प्रालिका वरिष्ठ महादिर्नेशक घनश्याम आचार्जले बताए । उनले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा दिने उद्देश्यले परीक्षण उडान गरिएको बताए ।

‘परीक्षण उडानका क्रममा कुनै पनि समस्या देखिएन,’ उनले भने, ‘परीक्षण उडान सफल भएको छ। जहाज सञ्चालनमा कुनै समस्या छैन ।’ परीक्षण उडान सफल भए पनि नियमित रुपमा हवाई सेवा दिनका लागि नागरिक उड्डयन प्राधिकरणको अनुमति चाहिने उनले बताए ।

‘सीताको तर्फबाट जहाज सञ्चालन गर्न तयार छौं,’ उनले भने, ‘प्राधिकरणको अनुमति पाउनासाथ नियमित सेवा दिन्छौं। छिटोभन्दा छिटो सञ्चालन गर्छौं । तर, मिति यकिन भन्न सकिने अवस्था छैन ।’

महादिर्नेशक  आचार्जले नेपालगञ्ज र धनगढी दुबै ठाउँलाई बेस बनाएर नियमित उडान हुनसक्ने बताए। उनले भने, ‘कुनै एकठाउँबाट मात्रै सिन हुनसक्छ । यसको निर्यण हुन बाँकी छ ।’

निकट भविष्यमै काठमाडौंबाट नेपालगञ्ज, धनगढी र सुदूरपहाडमा हवाई सेवा दिने तयारी रहेको समेत उनले बताए । परीक्षण उडानमा सिता एयर प्रालिका वरिष्ठ महादिर्नेशक आचार्ज, नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि तथा प्राविधिकको टोलीको सहभागी थिए । 

 

सम्बन्धित शीर्षकहरु