पशुपन्छीको अधिकार हनन भयो : सरोकारवाला

  आइतबार १८, असोज २०७७ ०७:४०

धनगढी : विश्व पशुपन्छी दिवस २०७७ को अवसरममा धनगढीमा आयोजित एक कार्यक्रममा सरोकारवालाले पशुपन्छीको हक अधिकार हनन भएको गुनासो गरेका छन् ।  भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलाली र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीको आयोजनामा अन्तरक्रिया र्काक्रममा पशुपन्छी विज्ञहरुले पशु अधिकारको हनन भएको गुनासो गरेका हुन् ।

सरोकारवालाहरुले पशुपन्छीका पाँच स्वतन्त्रताहरु सुनिश्चित हुनुपर्ने आवाज उठाएका छन् । पशुपन्छीको भोक प्यास मेटाउन पाउने स्वतन्त्रता, आरामदायी ढंगले जिउन पाउने स्वतन्त्रता, दुःख, दर्द, घाइते र रोग लाग्नबाट बाँच्न पाउने स्वतन्त्रता र डर, त्रास र तनावबाट मुक्त रहन पाउने स्वतन्त्रताको रक्षा हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

नेल्टा सुदूरपश्चिम प्रदेश संयोजक लाल बहादुर बोहराले पशुपन्छीहरुलाई जथाभावी रुपमा एन्टसबायोटिक औषधीहरु प्रयोग भईरहेको बताए। उनले आफूहरु पशुपन्छीको सवालमा खटिएर काम गरिरहेको बताउँदै यस्ता एन्टिबायोटिकहरु प्रयोग गर्न नहुने धारणा राखे ।  एग्रोभेट सञ्चालन लोकेन्द्र लम्सालले पशुपन्छीको हक अधिकार हनन् भइरहेको बताए । ‘पशुपन्छीलाई मार्नु काट्नुअघि यातना दिने, जबरजस्ती मार्ने, रागाहरुलाई दौडाई दौडाई बलि दिने जस्ता कार्य पशु अधिकारविपरीत हुन्,’ उनले भने ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पूर्वसचिव महेशराज विष्टले छाडा चौपाय व्यवस्थान गर्नु ठूलो चुनौती भएको बताए । ‘वयस्क अवस्थामा गाईको दूध खाएर वृद्ध अथवा उत्पादन दिन छोडेपछि सडकमा छाड्ने प्रवृत्तिले छाडा चौपायाको समस्या सिर्जना भएको हो’, उनले भने ।

यसरी गाईबस्तुलाई सडकमा छाड्नेलाई सरकारले कानुनी दायरामा ल्याउन जरुरी रहेको उनले बताए। पशुहरुले मानिसहरुलाई उत्पादन र योगदान दिन कुरा अमुख रहेको बताउँदै पशु कल्याणको लागी सरकारले काम गर्नुपर्ने सुझाव दिए ।  यस्तै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटी निर्देशक मदन सिहं धामीले पशुपन्छीको हक अधिकार संरक्षणको लागि सबैले आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

‘कुनै व्यक्तिले पशुवस्तुलाई छाडा छोडेको खण्डमा तीन महिनासम्म कैद सजायको व्यवस्था कानुनले गरेको छ,’ उनले भने, ‘छाडा चौपयाको समस्या निराकणका लागि स्थानीय तहहरुले कानुन कार्यान्वयनमा जोड दिनुपर्ने देखिएको छ ।’  यस्तै कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख वरिष्ठ पशु चिकित्सक डा.वसन्त बहादुर सिंहले पशु कल्याण मापदण्ड तयार गर्नुपर्ने बताए ।

मानिसले सम्पूर्ण जनावर प्रति संवेदनशील हुनुपर्ने धारणा राखे।  उनले पशुपन्छी र मानिसमा गोत्रीय सम्बन्ध रहेको बताउँदै विश्व पशुपन्छी दिवसलाई सबैले पर्वको रुपमा मनाउनुपर्ने बताए । ‘पुशपन्छीप्रति उचित सम्मान, मानव सभ्यताको पहिचान’ भन्ने मुल नाराका साथ विश्व पशुपन्छी दिवस २०७७ मनाइएको छ । 

सम्बन्धित शीर्षकहरु