बलात्कारीलाई कारबाहीको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन

  शनिबार ०१, कार्तिक २०७७ ०८:२७

महेन्द्रनगर । नेपालमा पछिल्लो समय निरन्तर बलात्कारका घटनामा बृद्धि भएपछि विद्यार्थीहरुले महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् । देशभर बलात्कारका घटनामा वृद्धि भएपनि सरकारले घटनामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले हात र आँखामा कालो पट्टी बाँधेर तथा कालो कपडा लगाएर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले ‘पुलिस काका हामी सुरक्षित छौं ?, बलात्कार रोक्नु होस्, भोली धेरै ढिला भयो, आज महिलाका लागि खडा हौं, के अब राष्ट्रपती नै बलात्कृत भएपछि मात्रै सरकार बोल्ने हो ?’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन गरेका थिए ।

बलात्कारीलाई कडा कारबाहीको माग गर्दै सिस्टर उड महेन्द्रनगरको सहकार्यमा महेन्द्रनगर बजारमा प्रदर्शन गरिएको विद्यार्थी हेमराज जोशीले बताए । ‘पछिल्लो समय देशभर बलात्कारका घटनामा बृद्धि भएको छ,’ उनले भने, ‘सरकारले बलात्कारीलाई कारबाही गर्न सकेको छैन्, त्यसैले जनचेतनामुलक कार्यक्रम गरेका हौं ।’
 

सम्बन्धित शीर्षकहरु