सुदूरपश्चिममा शनिबार थप १६८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ६९२ पुग्यो

  शनिबार १७, साउन २०७७ ०५:२१

धनगढी : सुदूरपश्चिममा आज एक सय ६८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धुलिखेल अस्पताल र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय ६८ जनामा संक्रमण पुष्टि भएको हो।

तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ६६ जना, बझाङका ५१ जना, अछामका २८ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा बझाङका ४३ जना, अछामका २८ जना, कैलालीका नौँ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

धुलिखेल अस्पतालमा भएको परीक्षणमा कैलालीका थप २७ जनामा संक्रमण देखिएको उनले बताए। यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ५३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २८९ नमुनामध्ये ५३ जनामा संक्रमण देखा परेको सेती प्रादेशिक अस्पातलले जनाएको छ । अस्पतालका सुचनाअधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार २० जना महिला र ३३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

बझाङको छब्बीसपाथिभेरा गाउँपालिकाका एक महिला र २ पुरुष, मष्टा गाउँपालिकाका एक महिला र एक पुरुष, दुगाँथलीका २ महिला र एक पुरुष, थलाराका ९ महिने बालिका सहित ५ जना महिला र ५ जना पुरुष र जयपृथ्वीका ५ जनामा संक्रमण देखिएको उनले बताए ।

यस्तै कैलालीको भजनीका एक महिला र २ जना पुरुष र गोदावरी नगरपालिकाका १० महिला र १७ पुरुषमा कोरोना पोजेटिभ देखिएको सुचनाअधिकारी श्रेष्ठले बताए । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ६ सय ९२ पुगेको छ।

सम्बन्धित शीर्षकहरु